Nepali: Unlocked Dynamic Bible - Nepali

Updated ? hours ago # views See on DCS Draft Material

एफिसि

Chapter 1

1 म पावल, मेरा प्रिय सङ्‍गी विश्‍वासीहरूलाई यो पत्र लेख्दछु, जसलाई परमेश्‍वरले आफ्नै निम्ति अलग गर्नुभएको छ, र जो ख्रीष्‍ट येशूप्रति आज्ञाकारी छन्-एफिसस सहरमा बस्‍ने सङ्‍गी विश्‍वासीहरूलाई म यो लेख्दै छु । म पावल हुँ, जसलाई परमेश्‍वरले चुन्‍नुभयो र तिमीहरूकहाँ ख्रीष्‍ट येशूको एक प्रेरितको रूपमा पठाउनुभयो । 2 म प्रार्थना गर्छु, कि हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई उहाँको दया र शान्ति दिऊन् । 3 हाम्रा येशू ख्रीष्‍टका पिता, परमेश्‍वरलाई प्रशंसा होस् ! ख्रीष्‍टले दिनुहुने हरेक प्रकारका स्वर्गीय आत्मिक आशिष्‌हरूद्वारा उहाँले हामीलाई अति आनन्दित तुल्याउनुभएको छ । 4 परमेश्‍वरले संसार सृष्‍टि गर्नुभन्दा अगाडि नै आफ्नो जन बनाउनको लागि ख्रीष्‍ट येशूद्वारा हामीलाई चुन्‍नुभयो, र परमेश्‍वरको दृष्‍टिमा निर्दोष भएर जिउन उहाँले हामीलाई परमेश्‍वरको निम्ति अलग गर्नुभयो । 5 परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको हुनाले, ख्रीष्‍टले गर्नुभएका कामहरूका कारण उहाँले हामीलाई आफ्नै सन्तानको रूपमा स्वीकार गर्न धेरै पहिले नै योजना बनाउनुभयो । उहाँले हामीलाई स्वीकार गर्ने योजना बनाउनुभयो किनभने हामीलाई आफ्नो सन्तान बनाउने कुराले उहाँलाई प्रसन्‍न तुल्यायो । तसर्थ, उहाँले आफूले गर्न चाहनुभएको काम गर्नुभयो । 6 यसैले, उहाँले प्रेम गर्नुहुने आफ्ना पुत्रद्वारा हामीलाई प्राप्‍त उहाँको अचम्मको कृपाको लागि अब हामी परमेश्‍वरको प्रशंसा गर्दछौँ, जुन कृपाको हामी योग्य थिएनौँ । 7 येशूले हामीलाई दासहरू किनबेच हुने बजारबाट किनेको जस्तै गरी स्वतन्‍त्र पार्नुभएको छ । उहाँले आफ्नो मृत्युद्वारा हामीलाई स्वतन्‍त्र पार्नुभएको छ अर्थात्, परमेश्‍वर हामीप्रति अति नै कृपालु हुनुभएकोले उहाँले हाम्रा पापहरू क्षमा गर्नुभएको छ । 8 उहाँ हामीप्रति धेरै दयालु हुनुभएको छ र उहाँले हामीलाई हर किसिमको विवेक दिनुभएको छ । 9 परमेश्‍वरले आफ्नो योजनाको रहस्य प्रकट गर्नुभएको छ । उहाँले योजना गर्नुभएको ख्रीष्‍टको महान् कार्यको बारेमा जान्‍न उहाँले हामीलाई सहायता गर्नुभएको छ । उहाँले त्यसरी नै गर्न चाहनुभएको हुनाले, उहाँले त्यो गर्नुभयो, र ख्रीष्‍टले हाम्रो निम्ति के गर्नुहुने थियो भनेर उहाँले हामीलाई देखाउनुभयो । 10 परमेश्‍वरले नियुक्‍त गर्नुभएको समयमा उहाँले स्वर्ग र पृथ्वीमा भएका सबै कुरालाई एउटै बनाउने योजना गर्नुभयो र तिनीहरूमाथि शासन गर्नुहुने केवल ख्रीष्‍ट मात्र हुनुहुन्छ । 11 धेरे पहिले परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँग एउटै हुन चुन्‍नुभयो । उहाँले यस्तो गर्ने योजना गर्नुभएको थियो, र उहाँले सधैँ आफूले चाहनुभएको काम नै गर्नुहुन्छ । 12 गैरयहूदीहरूले ख्रीष्‍टको बारेमा केही थाहा नपाउँदा नै निश्‍चयतासाथ मसीहको प्रतीक्षा गरिरहेका यहूदीहरूले उहाँको कृपाको निम्ति परमेश्‍वरको प्रशंसा गरून् भनेर उहाँले ती कामहरू गर्नुभयो । 13 अब, येशूमा विश्‍वास गर्नेहरूलाई उहाँले बचाउनुहुन्छ भन्‍ने साँचो समाचारलाई तिमी एफिससबासीहरू र गैरयहूदीहरूले सुनेका छौ । तिमीहरू परमेश्‍वरका हौ भनी पवित्र आत्माले तिमीहरूका निधारमा छाप लगाएझैँ गरी तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका छौ र उहाँसँग एउटै भएका छौ । 14 परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै थोक हामीले प्राप्‍त गर्नेछौँ भन्‍ने कुराको प्रमाण पवित्र आत्मा हुनुहुन्छ । र यो सबै कुरा उहाँलाई प्रशंसा गर्नुपर्ने कारण हो । 15 परमेश्‍वरले तिमीहरूका लागि गर्नुभएका थुप्रै कुराहरूका लागि र प्रभु येशूमा तिमीहरूले विश्‍वास गरेका परमेश्‍वरले चुन्‍नुभएका सबैलाई तिमीहरूले प्रेम गरेका छौ । 16 भनी मैले सुनेको हुनाले परमेश्‍वरलाई धन्यवाद दिन र तिमीहरूका लागि प्रार्थना गर्न मैले रोकेको छैनँ । 17 म प्रार्थना गर्दछु, कि चम्किलो प्रकाशमा विराजमान हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताले तिमीहरूलाई प्रकट गरिदिनुभएका सबै कुराहरू बुद्धिमानीपूर्वक बुझ्‍न र विचार गर्न सहायता गरून् । 18 म प्रार्थना गर्दछु, कि परमेश्‍वरले हाम्रा निम्ति के गर्न चाहनुहुन्छ र उहाँले सत्य बोल्दै हुनुहुन्छ भनी हामीलाई किन थाहा हुनुपर्छ भन्‍ने कुरा हामीलाई उहाँले सिकाऊन् । म प्रार्थना गर्दछु, कि हामीलाई र उहाँको हुनको निम्ति उहाँले चुन्‍नुहुने सबैलाई उहाँले दिनुहुन्छ भनी प्रतिज्ञा गर्नुभएका कुराहरू कति महान् छन् भन्‍ने कुरा हामीले जान्‍न सकौँ । 19 र म प्रार्थना गर्दछु कि, ख्रीष्‍टमा विश्‍वास गर्नेहरूका निम्ति परमेश्‍वरले कति शक्‍तिशाली प्रकारले काम गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक । उहाँ हाम्रा निम्ति शक्‍तिशाली रूपमा काम गर्नुहुन्छ, 20 जसरी उहाँले ख्रीष्‍टलाई जीवित तुल्यानुहुँदा, र उहाँलाई स्वर्गको उच्‍च र महिमित स्थानमा स्थापित गर्नुहुँदा, ख्रीष्‍टको निम्ति शक्‍तिशाली कार्य गर्नुभयो । 21 त्यस ठाउँमा, सबै तहका अधिकारका हरेक प्रकारका शक्‍तिशाली आत्मामाथि र अस्तित्वमा रहेको हरेक नाउँ माथि ख्रीष्‍टले सर्वोच्‍चमा रहेर अधिकार गर्नुहुन्छ । अरू कुनै प्राणीभन्दा येशू अति महान् हुनुहुन्छ, अहिले मात्र होइन तर सदाकाल । 22 परमेश्‍वरले सम्पूर्ण वस्तुहरू ख्रीष्‍टका पाउदानमुनि भए जसरी उहाँको अधीनतामा राख्‍नुभएको छ । र परमेश्‍वरले सारा संसारमा भएका विश्‍वासीहरूका माझमा हरेक थोकको निम्ति एउटा अधिकारीका रूपमा ख्रीष्‍टलाई नियुक्‍त गर्नुभएको छ । 23 यो त सबै विश्‍वासीहरू मिलेर ख्रीष्‍टको आफ्नै शरीर भएजस्तै हो । उहाँले सारा विश्‍वलाई आफ्नै शक्‍तिले भर्नुभएझैँ, सबै विश्‍वासीलाई आफ्नो शक्‍तिले भर्नुहुन्छ ।

Chapter 2

1 तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्नुअगि परमेश्‍वरको आज्ञा पालन गर्न तिमीहरू शक्‍तिहीन थियौ । तिमीहरू मृत्युमा परेको मानिसजस्तै लाचार थियौ । 2 तिमीहरू एक पटक संसारका मानिसहरूजस्तै थियौ, जो अदृश्य दुष्‍ट आत्माहरूमाथि दुष्‍ट शासक शैतानले चाहेजस्तै गरी जिउँछन् । शैतान त्यो दुष्‍ट आत्मा हो, जसले अहिले परमेश्‍वरको आज्ञा नमान्‍ने मानिसहरूलाई नियन्‍त्रण गरिराखेको छ । 3 हामी पनि कुनै समयमा परमेश्‍वरको आज्ञापालन नगर्नेहरूमध्येका थियौँ; हामीले आफूलाई आनन्दित तुल्याउने खराब कुराहरू गर्थ्यौं । त्यसकारण, परमेश्‍वर अरूहरूसँग जस्तैगरी हामीसँग धेरै रिसाउनुभयो । 4 तर परमेश्‍वरले हामीसँग धेरै दयापूर्ण व्यवहार गर्नुहुन्छ र हामीलाई धेरै प्रेम गर्नुहुन्छ । 5 हामी परमेश्‍वरको आज्ञापालन गर्न असक्षम भएर मरेतुल्य थियौँ, तर पछि उहाँले ख्रीष्‍टमा मिलाप गराएर हामीलाई पुनर्जीवित पार्नुभयो । परमेश्‍वरले हामीलाई बचाउनुभयो किनकि उहाँ हामीप्रति धेरै नै दयालु हुनुहुन्छ । 6 उहाँले हामीलाई मरेतुल्य मानिसहरूबाट उठाउनुभयो, र उहाँले ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानमा शासन गर्न हामीलाई आदरको स्थान दिनुभयो । 7 हामी ख्रीष्‍टको मिलापमा आएका हुनाले, भावी समयमा उहाँ कति दयालु हुनुहुन्छ भनी देखाउनलाई उहाँले हामीमा यो काम गर्नुभयो । 8 परमेश्‍वरको प्रचुर दयाद्वारा उहाँले तिमीहरूलाई उहाँको सजायबाट बचाउनुभएको छ, किनभने तिमीहरू येशूमा विश्‍वास गर्छौ । हामी आफैँद्वारा बाँचेका होइनौँ; यो त परमेश्‍वरबाट आएको वरदान हो 9 जुन वरदान कसैले पनि कमाउन सक्दैन । त्यसैले, कसैले आफैँले आफूलाई बचाएको हो भनी घमण्ड नगरोस् । 10 त्यसकारण, परमेश्‍वरले हामीलाई ख्रीष्‍ट येशूमा मिलापमा ल्याइएको नयाँ मानिसझैँ बनाउनुभएको छ, ताकि हामीले असल काम गर्न सकौँ जुन कामहरू परमेश्‍वरले धेरै समय अगाडि हाम्रा निम्ति योजना बनाउनुभएको थियो । 11 यो कुरा नबिर्स, कि तिमीहरू गैरयहूदी विश्‍वासीहरूलाई पहिले अन्यजातिहरू भनिन्थ्यो, किनकि तिमीहरू यहूदी भएर जन्मिएका थिएनौ । यहूदीहरूले तिमीहरूलाई अपमान गरी “बेखातनाका मुर्तिपूजक” भनी बोलाउँथे । तिनीहरू आफैँलाई खतनाका भन्थे, यसको अर्थ तिमीहरू होइनौ, तर तिनीहरू परमेश्‍वरका मानिसहरू हुन् भनेर तिनीहरूले भन्‍न चाहेका थिए, यद्यपि खतनाको कुरो त मानिसले मात्र गर्छ, परमेश्‍वरले गर्नुहुन्‍न । 12 त्यो समयमा, तिमीहरूले ख्रीष्‍टलाई धारण गरेका थिएनौ र तिमीहरू उहाँका मानिस, इस्राएलमध्येका थिएनौ । तिमीहरू परमेश्‍वरका प्रतिज्ञाहरू र व्यवस्थाको विषयमा अजान थियौ । परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको भविष्यमा तिमीहरूको विश्‍वास थिएन, र आफ्नो जीवन जिउने क्रममा, तिमीहरूले परमेश्‍वरलाई चिनेका थिएनौ । 13 तर अब जे ख्रीष्‍ट येशूले गर्नुभयो, त्यही कारणले गर्दा तिमीहरू उहाँमा भरोसा गर्न सक्षम भएका छौ, किनकि ख्रीष्‍ट क्रुसमा मर्न राजी हुनुभयो । 14 ख्रीष्‍टले यहूदीहरू र गैरयहूदीहरूका बिचमा भएको अवरोधलाई, हाम्रा मानिसहरूबिच एक-अर्कामा भएको घृणाको पर्खाल भत्काउनुभएजस्तै गरी हटाएर शान्ति र एकता ल्याउनुभयो । 15 उहाँले यहूदी व्यवस्थाहरू र आज्ञाहरूलाई हामीले कहिल्यै पालना गर्नुनपर्ने बनाउनुभयो । उहाँले यहूदी र गैरयहूदीहरूलाई दुईको साटोमा एकै मानिस बनाउनुभयो किनकि उहाँले हामीहरूको बिचमा शान्ति स्थापित गर्नुभयो । 16 येशूले यहूदी र गैरयहूदीहरू दुवैलाई विश्‍वासीहरूको एउटै नयाँ समूहमा परमेश्‍वरसँग साथी बनाउनुभयो । येशू क्रुसमा मर्नुभएर उहाँले तिनीहरूबिच एक अर्काप्रतिको घृणा रोक्‍न तिनीहरूका निम्ति सम्भाव्य तुल्याउनुभयो । 17 येशू आउनुभयो र परमेश्‍वरबाट प्राप्‍त हुने शान्तिको सुसमचार घोषणा गर्नुभयो; उहाँले यो सुसमाचार परमेश्‍वरलाई चिन्‍ने यहूदी र परमेश्‍वरलाई नचिन्‍ने गैरयहूदी दुवैलाई घोषणा गर्नुभयो । 18 येशूद्वारा दुवै यहूदी र गैरयहूदीहरूले अब पितासँग बात गर्न सक्छन्, किनभने परमेश्‍वरका आत्मा सबै विश्‍वासीहरूमा बास गर्नुहुन्छ । 19 त्यसकारण, अब तिमी गैरयहूदीहरू परमेश्‍वरका मानिसहरूका लागि नौलो र परदेशी छैनौ, तर परमेश्‍वरले आफ्नै निम्ति अलग गर्नुभएकाहरूसँगै सङ्‍गी सदस्यहरू भएका छौ, र तिमीहरू परमेश्‍वरको परिवारका सदस्यहरू भएका छौ जसका पिता परमेश्‍वर हुनुहुन्छ । 20 तिमीहरू उहाँले बनाउनुहुने भवनको एक ढुङ्गाजस्तै छौ र त्यो भवनको निर्माणचाहिँ प्रेरितहरू र अगमवक्‍ताहरूका शिक्षामाथि स्थापित हुनेछ । येशू ख्रीष्‍ट आफै नै भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गो अर्थात् कुने-ढुङ्गो हुनुहुन्छ । 21 येशूले विश्‍वासीहरूको परिवार बढाउँदै हुनुहुन्छ र तिनीहरूलाई मन्दिर निर्माणको ढुङ्गाजस्तै एक आपसमा मिलाउँदै हुनुहुन्छ र प्रभुले नयाँ विश्‍वासीहरूलाई आफूमा जोड्दै तिनीहरूको सङ्ख्या बढाउँदै हुनुहुन्छ । 22 येशूले यहूदी र गैरयहूदीहरूलाई सँगै एउटै परिवारमा निर्माण गर्दै हुनुहन्छ, जसमा परमेश्‍वर उहाँको आत्माद्वारा बास गर्नुहुन्छ ।

Chapter 3

1 तिमीहरू गैरयहूदीहरूका लागि परमेश्‍वरले यी सबै कुराहरू गर्नुभएको कारण येशू ख्रीष्‍टले म पावललाई तिमीहरूका निम्ति कैदमा हुन दिनुभएको छ । 2 तिमीहरूका निम्ति गरिदिनलाई परमेश्‍वरले मलाई केही कार्य सुम्पनुभएर सम्मान गर्नुभएको कुराको विषयमा तिमीहरूलाई थाहा छ भनी म विचार गर्दछु । 3 मैले तिमीहरूलाई सङ्क्षिप्‍त रूपमा लेखेको गुप्‍त सत्यताको कारणले गर्दा उहाँले मलाई यो काम प्रदान गर्नुभयो । 4 जुन कुराको विषयमा मैले तिमीहरूलाई सङ्क्षिप्‍त रूपमा लेखेँ, त्यस विषयमा तिमीहरूले पढेपछि, मैले ख्रीष्‍टको सत्यतालाई स्पष्‍ट रूपमा बुझेको छु भन्‍ने कुरा तिमीहरूले पनि बुझ्‍न सक्‍ने छौ । 5 यसरी सबैकहाँ आउने सुसमाचारलाई पहिले परमेश्‍वरले पूर्ण रूपले प्रकट गर्नुभएन । यो कुरा कसैले पनि बुझ्‍न सकेन, तर अहिले उहाँका आत्माले उहाँले चुन्‍नुभएका प्रेरितहरू र अगमवक्‍ताहरूलाई यो सुसमाचार प्रकट गर्नुभएको छ, जसलाई पवित्र आत्माले परमेश्‍वरको सेवा गर्न बोलाउनुभएको हो । 6 यो गुप्‍त सत्यता यही हो, कि अहिले गैरयहूदीहरू यहूदीहरूसँगै परमेश्‍वरको आत्मिक प्रशस्ततामा सहभागी भएका छन्, र परमेश्‍वरका मानिसहरू सँगै एउटै समूहका भएका छन्, र तिनीहरू ख्रीष्‍ट येशूमा एक भएको कारण परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरूका भागिदार हुनेछन्– यही नै सुसमाचार हो । 7 सुसमाचार फैलाउनको निम्ति म अहिले परमेश्‍वरको सेवक हुँ, जुन काम गर्न म योग्य थिइनँ, तर आफ्नो शक्‍तिले मभित्र काम गर्न परमेश्‍वरले मलाई यो दिनुभएको छ । 8 परमेश्‍वरका सबै मानिसहरूमध्ये म सबैभन्दा कम योग्यको भए तापनि, परमेश्‍वरको दया र कृपाद्वारा ख्रीष्‍टले हाम्रा निम्ति गर्नुभएका कुराहरूबारे गैरयहूदीहरूलाई सुसमाचार घोषणा गर्न परमेश्‍वरले मलाई सक्षम बनाउनुभएको छ । यी कुराहरू यति धेरै छन्, कि कसैले पनि यी सबैको बारेमा जान्‍न सक्दैन । 9 मेरो जिम्मेवारीचाहिँ परमेश्‍वरको योजना हरेकलाई व्याख्या गरिदिनु हो, जुन कुरा परमेश्‍वरले धेरै वर्ष अगिदेखि लुकाइराख्‍नुभएको छ अर्थात् त्यस समयदेखि जुन बेला परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो । 10 परमेश्‍वरले बुद्धिमानीपूर्वक योजना गर्नुभएको कुरालाई ख्रीष्‍टमा विश्‍वास गर्ने मानिसहरूद्वारा स्वर्गमा रहेका शक्‍तिशाली स्वर्गदूतहरूलाई पनि उहाँले प्रकट गर्नुभएको छ । 11 यही कुरा परमेश्‍वरले अनन्‍तकालदेखि नै योजना गरिरहनुभएको थियो, र यसलाई उहाँले हाम्रा प्रभु अर्थात् ख्रीष्‍ट येशूको कामद्वारा पुरा गर्नुभयो । 12 यसकारण, अब हामीले प्रार्थना गर्दा हामी आत्मविश्‍वाससाथ र भयभीत नभईकन परमेश्‍वरकहाँ आउन सक्छौँ, किनभने हामी येशूमा विश्‍वास गर्दछौँ, जसले परमेश्‍वरको योजनालाई पुरा गर्नुभएको छ । 13 यसकारण म भन्दछु कि मेरा कष्‍टको कारणले गर्दा तिमीहरू निरुत्साहित नहोओ, यहाँ कारावासमा तिमीहरूका निम्ति धेरै कुराहरू छन्, जसले तिमीहरूलाई गौरवान्वित तुल्याउनेछन् । 14 परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै गर्नुभएको हुनाले, म घुँडा टेकी हाम्रा पिता परमेश्‍वरलाई प्रार्थना गर्दछु । 15 उहाँले नै स्वर्ग र पृथ्वीका सबै परिवारलाई तिनीहरूको नाम दिनुहुन्छ । 16 तिमीहरूका अन्तस्करणमा बास गर्नुहुने उहाँका आत्माद्वारा परमेश्‍वरले तिमीहरूलाई शक्‍ति दिई मजबुत गराऊन् भनेर म प्रार्थना गर्दछु । 17 म प्रार्थना गर्दछु, कि ख्रीष्‍टमा तिमीहरूले विश्‍वास गरेको कारण, उहाँ तिमीहरूका हृदयमा वास गर्न सकून्, र तिमीहरू बलियो गरी जरा गाडेर बसेको रूखझैँ र चट्टानमाथि बसालिएको भवन झैँ हुनेछौ, 18 ताकि तिमीहरूले परमेश्‍वरका निम्त अलग गरिएकाहरूसँगै ख्रीष्‍टको प्रेम कति चौडा र लामो, अनि अग्लो र गहिरो छ भन्‍ने कुरा पूर्ण रूपमा बुझ्‍न सक्‍नेछौ । 19 यो प्रेम यति महान् छ, कि हामी यसलाई बुझ्‍न सक्दैनौँ, तर यही प्रेमको कारणले, परमेश्‍वर आफैँले तिमीहरू सबैलाई भरून् भनेर म प्रार्थना गर्दछु । 20 हामीले उहाँसँग सधैँ माग्‍ने, वा उहाँले गर्न सक्‍नुहुन्छ भनेर हामीले विचार गर्ने सबै कुराभन्दा धेरै महान् कुराहरू हामीभित्र काम गर्ने उहाँको शक्‍तिको कारण उहाँले गर्न सक्‍नुहुन्छ । 21 परमेश्‍वर र ख्रीष्‍ट येशूको आराधना गर्न र अरू सबै कुराभन्दा धेरै परमेश्‍वरलाई नै सम्मान गर्न सबै विश्‍वासीहरू एकै ठाउँमा भेला होऊन् । इतिहास देखिका सबै पुस्ताका विश्‍वासीहरूले युग-युगसम्म उहाँको प्रशंसा गरून् ! यस्तै होस् ।

Chapter 4

1 यसकारण, मैले प्रभु येशूको प्रचार गरेको कारणले, यस झ्यालखानाबाट, परमेश्‍वरले चुन्‍नुभएका तिमीहरूलाई म बिन्ती गर्दछु, कि तिमीहरूलाई बोलाउनुहुने येशूलाई आदर हुने किसिमले जिओ । 2 तिमीहरूले एकअर्कालाई प्रेम गरेको कारणले नम्रता र कोमलता र धैर्यपूर्वक एकअर्काको खाँचोमा सेवा गर । 3 तिमीहरू एक-आपसमा एकतामा शान्तिपूर्वक रहेर एकअर्कामा एक हुनको निम्ति प्रयत्‍न गर । 4 सबै विश्‍वासीहरू मिलेर एउटै समूह बन्छ, र पवित्र आत्मा एउटा मात्र हुनुहुन्छ, र तिमीहरूका निम्ति परमेश्‍वरका प्रतिज्ञाहरूलाई पुरा गर्न निश्‍चयतासाथ परमेश्‍वरमा पर्खन तिमीहरूलाई चुनिएको थियो । 5 प्रभु एउटै हुनुहुन्छ, येशू ख्रीष्‍ट, जसमाथि हामी एकसाथ विश्‍वास गर्दछौँ । र उहाँको नाउँमा कसैलाई बप्‍तिस्मा दिनुपर्ने एउटै मात्र कारण छ । त्यो कारण येशू ख्रीष्‍ट हुनुहुन्छ । 6 प्रत्येकको वास्तविक पिता, परमेश्‍वर एउटै हुनुहुन्छ । उहाँ आफ्ना मानिसहरूमाथि राज्य गर्नुहुन्छ र उहाँको शक्‍तिले प्रत्येक कुरालाई भर्नुहुन्छ । 7 ख्रीष्‍टले चाहनुभएको नापअनुसार परमेश्‍वरले प्रत्येक विश्‍वासीलाई उदारतासाथ आत्मिक वरदान दिनुभएको छ । 8 परमेश्‍वरले विजय प्राप्‍त गर्नुभएका मानिसहरूबाट उहाँलाई प्राप्‍त धनको विषयमा भजनका लेखकले भनेजस्तै हो यो, जब उहाँ डाँडाको टुप्पोमा बसालिएको आफ्नो सहरमा उक्लनुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो र तिनीहरूका वरदानहरू उहाँका मानिसहरूलाई दिनुभयो । 9 “उहाँ माथि उक्लनुभयो” भन्‍ने शब्‍दहरूले युद्ध गर्नको निम्ति यरूशलेमबाट परमेश्‍वरका अभिषिक्‍त राजाझैँ ख्रीष्‍ट पहिले स्वर्गबाट पृथ्वीमा ओर्लनुभयो भन्‍ने कुरालाई बताउँछन् । 10 ख्रीष्‍ट, जो दुष्‍टलाई पराजित गर्न पृथ्वीमा ओर्लनुभयो, उहाँलाई नै हाम्रा पापहरूका निम्ति क्रुसमा टाँगियो, र उहाँ पुनर्जीवित हुनुभयो, र उहाँले सबै कुरामाथि नियन्‍त्रण गर्न उहाँ स्वर्गमा अति उच्‍च स्थानमा उक्लनुभयो । 11 उहाँले कोही विश्‍वासीहरूलाई प्रेरितहरू, कोहीलाई अगमवक्‍ताहरू, कोहीलाई प्रचारकहरू, र कोहीलाई अगुवाइ गर्नेहरूको रूपमा नियुक्‍त गर्नुभयो र अरूलाई विश्‍वासीहरूको समूहलाई शिक्षा दिन नियुक्‍त गर्नुभयो । 12 ख्रीष्‍टका सबै मानिसहरू आत्मिक रूपमा बलियो होऊन् भनेर परमेश्‍वरको कार्य गर्न र अरूको सेवक बन्‍नलाई उहाँका मानिसहरूलाई तयार गर्नको निम्ति यी कुराहरू भए । 13 हामी विश्‍वासीहरूले उहाँमा विश्‍वास गर्ने र उहाँलाई बुझ्‍नको निम्ति पूर्ण रूपमा हुर्कने क्रममा हामी एक भएको उहाँ चाहनुहुन्छ । हामी परिपक्‍व विश्‍वासीहरू भएका र उहाँजस्तै सिद्ध हुन अगाडि बढेको उहाँ चाहनुहुन्छ । 14 हामी परिपक्‍व भइसकेपछि, साना बालकहरूजस्तै हामी सत्यको बारेमा अनभिज्ञ रहनेछैनौँ । हावा र छालले डुङ्गालाई बगाएजस्तै, हामीले अब उसो हरेक नयाँ शिक्षालाई पछ्याउने छैनौँ । झुटा कुराहरू सिकाउने मनिसहरूलाई अब हामीलाई छलमा पार्न र धोखा दिन हामी दिनेछैनौँ । 15 तर त्यसको सट्टामा, हामी परमेश्‍वरलाई प्रेम गर्दै र उहाँको साँचो शिक्षामा विश्‍वास गर्दै जिउनेछौँ, र हरेक तरिकामा झनझन ख्रीष्‍टझैँ हुनेछौँ । एउटा मानिसको शिरले उसको शरीरलाई नियन्‍त्रण गरेजस्तै गरी उहाँले आफ्ना मानिसहरूलाई नियन्‍त्रण गर्नुहुन्छ । 16 मानिसको शरीर जोर्नीहरूद्वारा मिलेर सँगै एक-आपसमा गाँसिएझैँ र शरीरका अङ्गहरू एक-आपसमा भर पर्ने हुनाले जोर्नीहरूले शरीरको विकास र वृद्धि हुन सहायता गरेझैँ, उहाँले सबै विश्‍वासीहरूलाई सबै ठाउँहरूमा सँगै बढ्न र एकअर्कालाई प्रेम गर्न सक्षम तुल्याउनुहुन्छ । 17 अविश्‍वासी गैरयहूदीहरूझैँ अब उसो तिमीहरू जिउनुहुन्‍न भनेर म दृढतापूर्वक बताउँछु । तिनीहरूका व्यर्थका विचारहरूले तिनीहरूलाई यसरी जिउन लगाउँछन् । 18 तिनीहरू ठिक र बेठिक के हो भन्‍ने कुरा स्पष्‍टसँग सोच्‍न सक्दैनन् । तिनीहरूले परमेश्‍वरका सन्देशहरू सुन्‍न इन्कार गरेका हुनाले, तिनीहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्नुपर्छ भन्‍ने कुरा सोच्‍नै सक्‍तैनन् । यसैकारण, येशू ख्रीष्‍टले हामीलाई दिनुहुनेजस्तो अनन्त जीवन तिनीहरूसँग छैन । 19 तिनीहरूले शरीरले अभिलाषा गरेका निर्लज्ज कुराहरू निरन्तर रूपमा गर्न छानेका छन् । तिनीहरू हर प्रकारका अनैतिक कार्यहरू गर्दछन् र ती कुराले ग्रसित हुँदै गएका छन्, र तिनीहरूले अभिलाषा गरेका कुराहरूमा लोभ गर्दछन् । 20 तर तिमीहरूले ख्रीष्‍टको बारेमा सिक्दा यसरी जिउन सिकेका थिएनौ । 21 अब तिमीहरूले ख्रीष्‍टको बारेमा सुनेका र उहाँले तिमीहरूलाई सिकाउनुभएको हुनाले, उहाँको बाटो नै जीवनको निम्ति सत्य बाटो हो भन्‍ने कुरा तिमीहरू जान्दछौ । 22 तिमीहरूले अहिलेसम्म जिइरहेको तरिकालाई त्याग्‍नुपर्छ भनेर येशूले सिकाउनुभयो । तिमीहरूले आफ्ना अभिलाषाहरूद्वारा आफैँलाई धोखा दिइरहेको हुनाले तिमीहरू सडेका लाशहरूझैँ थियौ । 23 तिमीहरूका आत्मा र तिमीहरूको सोच्‍ने तरिकालाई परमेश्‍वरद्वारा परिवर्तन गरिनको निम्ति सुम्पिदेऊ । 24 एउटा नयाँ व्‍यक्‍तिको रूपमा तिमीहरू जिउन सुरुआत गर । परमेश्‍वरले तिमीहरूलाई नयाँ मानिसहरूझैँ बनाउनुभएको छ । तिमीहरू उहाँको निम्ति अलग गरिएका छौ । परमेश्‍वरमा साँचो रूपमा समर्पित भई सही बाटोमा हिँड्न उहाँले तिमीहरूलाई सृजना गर्नुभयो । 25 त्यसकारण, एक अर्कासँग झुटो बोल्न छाड । जसरी धर्मशास्‍त्रले भन्दछ, “एकअर्कासँग सत्य बोल, किनकि हामीहरू अब एकअर्काका सङ्‍गी विश्‍वासीहरू हौँ ।” हामी परमेश्‍वरको परिवारमा अब एकअर्काका भएका छौँ । 26 यदि तिमीहरू रिसाउँछौ भने, आफ्नो रिसलाई पाप गर्न नदेऊ । दिन बित्‍नुभन्दा अगाडि नै तिमीहरू रिसाउन छोड, 27 ताकि दुष्‍टलाई तिमीहरूमाथि आक्रमण गर्न अनुमति नमिलोस् । 28 जसले चोरी गरिरहेको थियो, त्यसले अब उसो चोरी गर्न छोडोस् । त्यसको सट्टामा, खाँचोमा परेकाहरूलाई दिनको निम्ति तिनीहरूसँग केही होस् भनेर तिनीहरूले आफ्नै प्रयासमा जीविकोपार्जन गर्न कडा परिश्रम गरून् । 29 कुवाक्य नबोल । तर त्यसको सट्टामा, सहायताको आवश्यकता भएका मानिसहरूलाई सहायता गर्ने कुराहरू बोल, ती कुराहरू जसले सुन्‍ने मानिसहरूलाई सहायता गर्छन् । 30 तिमीहरूको जिउने तरिकाद्वारा पवित्र आत्मालाई दुः खित नतुल्याओ । परमेश्‍वरले एक दिन हामीलाई यस दुष्‍ट संसारबाट बचाउनुहुन्छ भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ । 31 अरूप्रति कत्ति पनि क्रोधित नहोओ । कुनै प्रकारले नरिसाओ अथवा अरूलाई अपमानजनक ढङ्गले गाली नगर । कहिल्यै अरूको निन्दा नगर । अरूप्रति कहिल्यै खराबीको योजाना नबनओ । 32 एकअर्काप्रति दयालु होओ । एकअर्कासँग कृपालु भएर व्यवहार गर । एकअर्कालाई क्षमा देओ, जसरी परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टले जे गर्नुभयो त्यसको कारणमा दिनुभयो ।

Chapter 5

1 परमेश्‍वरको अनुकरण गर, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र तिमीहरू उहाँका सन्तान हौ । 2 अरूहरूलाई प्रेम गरी जिउने गर, जसरी ख्रीष्‍टले हाम्रा पापहरूका निम्ति परमेश्‍वरकोसामु भेटी र बलिदानको रूपमा आफैँलाई क्रुसमा सुम्पनुहुँदा उहाँले हामीलाई प्रेम गर्नुभएको थियो, जुन बलिदान परमेश्‍वरलाई अति प्रसन्‍न पार्ने कुरा थियो । 3 कुनै किसिमका अनैतिक क्रियाकलापको सुझाव नदेओ र अरू मानिसहरूले चाहना गरेका अथवा अरूहरूले गरेका गलत कुराहरू नगर । पापको निम्ति होइन, तर परमेश्‍वरका निम्ति अलग गरिएका परमेश्‍वरका मानिसहरूका बारेमा यस्ता पापहरूले अरू मानिसहरूलाई नराम्रा कुराहरू बोल्न लगाउँछन् । 4 अरूलाई अश्‍लिल कथाहरू नसुनाओ वा पापको विषयमा मूर्ख कुराहरू वा ख्यालठट्टाहरू नगर । परमेश्‍वरका जनहरूलाई यस्ता कुराहरू गर्न सुहाउँदैन । बरु, मानिसहरूसँग कुराकानी गर्दा परमेश्‍वरको प्रेमको निम्ति उहाँलाई धन्यवाद देओ । 5 तिमीहरू यस कुरामा निश्‍चित होओः कामुक रूपमा अनैतिक वा अश्‍लिल व्‍यक्‍ति, वा जसमा यी कुराहरूको लालसा छ (जुन मूर्तिपूजा गर्नु जस्तै हो), ख्रीष्‍टले राजा भई शासन गर्नुहुने परमेश्‍वरका जनहरूमा त्यो व्यक्‍ति पर्नेछैन । 6 झुटा तर्क वितर्कहरूद्वारा तिमीहरूलाई कसैले धोखा नदिओस् । तिनीहरूले यस्ता पापपूर्ण कुराहरू गर्ने हुनाले, उहाँप्रति अनाज्ञाकारी हुने मानिसहरूसँग परमेश्‍वर रिसाउनुहुनेछ । 7 तसर्थ, यस प्रकारका पापहरू गर्ने मानिसहरूसँग सहभागी नहोओ । 8 प्रभु येशूमा विश्‍वास गर्नुभन्दा पहिले, तिमीहरूलाई सधैँ अन्धकार रातले घेरेझैँ गरी पापपूर्ण अनाज्ञाकारितामा तिमीहरू जिइरहेका थियौ । तर अब परमप्रभुको ज्योतिमा जिओ । 9 जसरी ज्योतिले असल कुराहरू उत्पन्‍न गर्दछ, त्यसरी नै येशूको ज्योतिमा जिउनेहरूले असल, सही र साँचा कुराहरू थाहा पाएर सोहीअनुरूप काम गर्ने गर्छन् । 10 परमप्रभुलाई प्रसन्‍न तुल्याउने कुराहरूलाई पारख गरी पत्ता लगाओ । 11 आत्मिक अन्धकारमा व्यर्थका कामहरू गर्ने मानिसहरूसँग एकसाथ सहभागी नहोओ । बरु, “ती पापपूर्ण कामहरू व्यर्थका छन्” भनी भन । 12 किनभने अन्धकारमय गुप्‍त स्थानमा मानिसहरूले गर्ने दुष्‍ट कुराहरूलाई ज्योतिमा व्याख्या गर्नु लाजमर्दो कुरो हो । 13 तब ज्योतिले प्रकट गराउने हरेक कुरा स्पष्‍टसँग देख्‍न र राम्रोसँग बुझ्‍न सकिने हुन्छ । 14 किनभने ज्योतिले त्यो के हो भनी साँचो रूपमा देखाइदिन्छ । यो कुरा परमेश्‍वरको वचनले मानिसहरूलाई नाश गर्ने पाप र मानिसहरूलाई क्षमा गर्ने र नयाँ बनाउनुहुने ख्रीष्‍टको विषयमा वर्णन गरेकोजस्तै हो । त्यसैले, विश्‍वासीहरू यसो भन्दछन्, “तिम्रो निद्राबाट जाग र मरेतुल्य गरी जिउनेहरूबाट खडा होओ । उहाँको क्षमादान र नयाँ जीवन बुझ्‍न ख्रीष्‍टले तिमीलाई सक्षम तुल्याउनुहुनेछ ।” 15 त्यसैले, तिमीहरू कसरी जिउँछौ, त्यसमा निकै होसियार होओ । मूर्ख मानिसहरूले गर्नेजस्तो व्यवहार नगर । बरु, बुद्धिमान् मनिसहरूले जस्तै व्यवहार गर । 16 पृथ्वीमा तिमीहरूको समयलाई बुद्धिमानीसँग प्रयोग गर, किनभने यी दिनहरू दुष्‍टताले भरिएका छन् । 17 त्यसैले मूर्ख नबन । बरु, येशू प्रभुले तिमीहरूले के गरेको चाहनुहुन्छ, त्यसलाई बुझेर त्यही गर । 18 तिम्रो जीवनलाई नाश पार्न सक्‍ने मदिरायुक्‍त पेय पदार्थहरू नपिओ । बरु, तिमीहरूले हर समय गर्ने कामहरूलाई परमेश्‍वरको आत्माद्वारा नियन्‍त्रित हुन देओ । 19 एकअर्कासँग भजनहरू गाओ, र ख्रीष्‍टको बारेमा गीतहरू गाओ र परमेश्‍वरको आत्माले तिमीहरूलाई दिनुहुने गीतहरू गाओ । प्रभु येशूको प्रशंसा गर्न तिमीहरूले आफ्ना हृदयदेखि नै ती भजनहरू र अरू गीतहरू गाओ । 20 प्रभु येशू ख्रीष्‍टले तिमीहरूका लागि गर्नुभएका हरेक कुराका निम्ति हर समय परमेश्‍वर पितालाई धन्यवाद देओ । 21 तिमीहरूले ख्रीष्‍टलाई आदर गर्ने भएकाले नम्रतापूर्वक एकअर्काको अधीनमा बस । 22 पतिहरूले आफैँलाई प्रभु येशूको नेतृत्वमा समर्पित गरेजस्तै पत्‍नीहरूले पनि आ-आफ्ना पतिहरूका नेतृत्वमा आफैँलाई समर्पित गर्नुपर्छ, किनभने पति पत्‍नीको अगुवा हो र ख्रीष्‍टचाहिँ विश्‍वासीहरूका विश्‍वव्यापी समुदायको अगुवा हुनुहन्छ । 23 उहाँ मुक्‍तिदाता हुनुहुन्छ, जसले सबै विश्‍वासीहरूलाई तिनीहरूका पापका निम्ति दोषी ठहरिनबाट बचाउनुभएको छ । 24 सबै विश्‍वासीहरूले आफैँलाई ख्रीष्‍टको अधिकारमा समर्पित गरेझैँ, स्‍त्रीहरूले आफैँलाई पूर्ण रूपमा आ-आफ्ना पतिहरूको अधिकारमुनि समर्पित गर्नुपर्छ । 25 जसरी ख्रीष्‍टले सबै विश्‍वासीहरूलाई प्रेम गरेर हाम्रो निम्ति क्रुसमा आफ्नो जीवन दिनुभयो, त्यसरी नै तिमी प्रत्येक पतिहरूले आफ्नो पत्‍नीलाई प्रेम गर, 26 ताकि उहाँले हामीलाई आफ्नो निम्ति अलग गर्नसक्‍नुभएको होस् । पानीले धोएजस्तो गरी, आफ्नो वचनको शक्‍तिद्वारा येशूले विश्‍वासीहरूका पापको दण्डलाई हटाएर हामीलाई शुद्ध पार्नुभयो । 27 अब ख्रीष्‍टले सबै विश्‍वासीहरूलाई पूर्ण रूपमा पापरहित, शुद्ध, क्षमा प्राप्‍त, दोषरहित समूहझैँ आफ्नै निम्ति प्रस्तुत गर्न सक्‍नुहुन्छ । 28 प्रत्येक मानिसले आफ्नो शरीरलाई प्रेम गरेझैँ आफ्नी पत्‍नीलाई प्रेम गर्नुपर्छ । पुरुषहरूले आफ्ना पत्‍नीहरूलाई प्रेम गर्दा, यो तिनीहरूले आफैँलाई प्रेम गरेजस्तै हो, 29 किनभने कसैले पनि आफ्नो शरीरलाई घृणा गरेको छैन । 30 बरु, जसरी ख्रीष्‍टले आफ्नो विश्‍वव्यापी समुदायमा हामी सबै विश्‍वासीहरूलाई वास्ता गर्नुहुन्छ, त्यसरी नै मानिसले आफ्नो शरीरलाई खुवाउने-पियाउने र वास्ता गर्ने गर्छ । हामी विश्‍वासीहरू एउटै समूह भएका छौँ र त्यो उहाँकै हो । 31 विवाह गर्ने मानिसहरूका बारेमा धर्मशास्‍त्रले यसो भन्छः “पुरुष र स्‍त्रीले विवाह गरेपछि तिनीहरूले आफ्ना बुबा-आमालाई स्थायी रूपमा छोड्नुपर्छ । त्यसपछि तिनीहरू पति र पत्‍नीको रूपमा जोडिनुपर्छ, र तिनीहरू दुई जना एउटै व्‍यक्‍ति जस्तै हुनेछन् । 32 परमेश्‍वरले प्रकट गरिदिनुभएको यस कुराको अर्थ बुझ्‍न गाह्रो छ, तर विश्‍वासीहरूको विश्‍वव्यापी समुदायको निम्ति ख्रीष्‍टको प्रेमको बारेमा म तिमीहरूलाई बताउँदै छु । 33 तथापि, तिमीहरूका निम्ति म फेरि भन्दछु, कि प्रत्येक मानिसले आफैँलाई प्रेम गरेझैँ आफ्नी पत्‍नीलाई प्रेम गर्नुपर्छ, र प्रत्येक महिलाले आफ्नो पतिलाई आदर गर्नुपर्छ ।

Chapter 6

1 छोराछोरीहरू हो, तिमीहरू प्रभु येशूका भएका हुनाले, तिम्रा अभिभावकको आज्ञा पालन गर, किनभने यो गर्नु तिम्रो लागि असल छ । 2 परमेश्‍वरले धर्मशास्‍त्रमा आज्ञा गर्नुभएको छ, “तिम्रा बुबा आमालाई अति आदर गर ।” त्यो पहिलो व्यवस्था हो जसमा परमेश्‍वरले आज्ञासहित प्रतिज्ञा गर्नुभयो । उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो, 3 “यदि तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरूले उन्‍नति गर्नेछौ, र तिमीहरू पृथ्वीमा लामो समय जिउनेछौ ।” 4 आमा बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस उठाउने गरी अति कडा रूपमा व्यवहार नगर । यसको सट्टामा, प्रभु येशूले चाहनुभएअनुसार तिनीहरूलाई असल निर्देशन दिएर अनुशासनमा हुर्काओ । 5 कमाराहरू हो, जो पृथ्वीमा तिम्रा मालिकहरू छन्, तिनको आज्ञा पालन गर । जसरी तिमीहरूले ख्रीष्‍टका आज्ञा पालन गर्दछौ, त्यसरी नै तिमीहरूले अति आदरपूर्ण र इमानदारीसाथ तिनीहरूकोआज्ञा पालन गर । 6 तिनीहरूले तिमीहरूलाई हेरिरहेका समयमा मात्र आज्ञा पालन नगर । त्यसको सट्टामा, ती मालिकहरूका कमाराझैँ होइन, ख्रीष्‍टका कमाराहरू भएझैँ गरी तिनीहरूको आज्ञा पालन गर । जे परमेश्‍वरले तिमीहरूले गरेको चाहनुहुन्छ, त्यसलाई जोसका साथ गर । 7 साधारण मानिसहरूको सेवा गरेजस्तो होइन, प्रभु येशूको सेवा जसरी गर्दछौ, त्यसरी नै तिम्रा मालिकहरूको सेवा खुसीसाथ गर । 8 यो कुरा गर, किनकि तिमीहरूलाई थाहा छ एक दिन प्रभु येशूले हरेक व्‍यक्‍तिलाई उसले गरेको असल कामअनुसार इनाम दिनुहुनेछ । त्यो व्‍यक्‍ति कमारा र फुक्‍का जे भए तापनि त्यसले कुनै फरक पार्दैन । 9 मालिकहरू हो, जसरी तिम्रा कमाराहरूले तिमीहरूलाई असल प्रकारले सेवा गर्नुपर्छ, त्यसरी नै तिमीहरूले तिनीहरूलाई असल व्यवहार गर । तिनीहरूलाई धम्की दिन छोड । यो नबिर्स, कि तिनीहरूका र तिम्रा प्रभु स्वर्गमा हुनुहुन्छ । उहाँले एकअर्काको भेदभाव नगरीकन तिमीहरूका ठिक व्यवहारको न्याय गर्नुहुन्छ । 10 अन्तमा, प्रभु येशूको सामर्थी शक्‍तिद्वारा तिमीहरू आत्मिक रूपमा बलियो हुनलाई उहाँमा पूर्ण रूपले भरोसा राख । 11 जसरी सिपाहीले आफ्ना सबै हातहतियारहरू धारण गर्दछ, त्यसरी नै दुष्‍टले तिमीहरूको विरुद्ध धूर्त षड्यन्‍त्रगर्दा, सफलतासाथ त्यसको विरोध गर्न परमेश्‍वरबाटको हरेक साधन तिमीहरूले प्रयोग गर्नुपर्छ । 12 हामीहरूले अरू मानिसहरूका विरुद्ध लडाइँ गरेका होइनौँ, तर हामीहरू सबै प्रकारका दुष्‍ट शासकहरू र दुष्‍ट आत्माहरूका विरुद्ध लडिरहेका छौँ, जो आत्मिक अन्धकारमा रहन्छन् । 13 यसकारण, जसरी एउटा सिपाहीले आफ्ना सबै हाततियार धारण गर्दछ, त्यसरी नै तिमीहरूले परमेश्‍वरको सारा हातहतियार धारण गर्नुपर्छ, ताकि तिमी यस संसारको दुष्‍ट समयमा, दुष्‍टको विरुद्ध खडा हुन सक । परमेश्‍वरको हातहतियारले, तिमी दुष्‍टका आक्रमण विरुद्ध लड्न सक्छौ र परमेश्‍वरको निम्ति जीउन सक्दछौ । 14 त्यसकारण, युद्धमा लगाइने हतियारहरूझैँ परमेश्‍वरको सत्यता र धार्मिकतताको लुगा धारण गरी दुष्‍टको विरुद्ध खडा होओ । 15 र सिपाहीहरूले तिनीहरूका जुत्ता कसेर लगाएझैँ सुसमाचारलाई दृढतासाथ विश्‍वास गर र पालन गर, जसले हामीलाई परमेश्‍वरसँग मिलाप गराउँदछ । 16 अझै, प्रभुमा निरन्तर दृढतासाथ भरोसा गरिराख । दुष्‍ट शैतानले तिमीहरूलाई आत्मिक तवरले हानि पुर्‍याउन सक्‍ने सबै कुराबाट आफैँलाई सुरक्षित राख्‍न त्यस दृढ भरोसाले तिमीहरूलाई सक्षम तुल्याउँदछ, जसरी शत्रुहरूले सिपाहीहरूलाई ज्वालामुखी बाणहरूले हान्दा सुरक्षित रहन तिनीहरूले ढाल बोक्दछन् । 17 र ख्रीष्‍टमा भरोसा राख, जसले तिमीहरूलाई बचाउनुभयो । यो एउटा सिपाहीले आफ्नो टाउको बचाउन टोप लगाएकोजस्तो हो । र सिपाहीले आफ्नो तरवार समाएजस्तै परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको कुरामा विश्‍वास गर । 18 तिमीहरूले यसो गर्दा, परमेश्‍वरले तिमीहरू र अरूहरूका निम्ति काम गरिदिनुभएको हो भनी अनुरोध गर्दै हर समय उहाँलाई प्रार्थना गरिरहो; र परमेश्‍वरको आत्माले तिमीहरूको प्रार्थनालाई अगुवाइ गर्नदेओ । यस उद्देश्यको लागि, सबै परमेश्‍वरका मानिसहरूका निम्ति प्रार्थना गर्दै आत्मिक रूपमा चनाखो होओ । 19 र विशेष गरी, मेरो लागि प्रार्थना गर । मैले के बोल्नुपर्ने हो, त्यो परमेश्‍वरले मलाई भन्‍नुभएको होस् भनी प्रार्थना गर, ताकि मैले साहसका साथ अरूहरूलाई ख्रीष्‍टको बारेमा सुसमाचार सुनाउन सकूँ । मानिसहरूले योभन्दा पहिले यस सन्देशको बारेमा जानेका थिएनन्, तर परमेश्‍वरले अहिले मलाई यो प्रकट गरिदिनुभएको छ । 20 त्यसकारण, यस झ्यालखानामा म ख्रीष्‍टको एक प्रतिनिधि हुँ । जब म अरूहरूलाई ख्रीष्‍टको बारेमा बताउँछु, म निर्भयतासाथ बोल्न सकूँ भनेर प्रार्थना गर किनभने त्यसरी नै मैले बोल्नुपर्छ । 21 मलाई के भइरहेको छ र म के गर्दै छु भन्‍ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले तुखिकसलाई यस पत्रको साथमा तिमीहरूकहाँ पठाइरहेको छु । उनले तिमीहरूलाई यहाँ के भइहेको छ, सबै कुरा बताउनेछन् । उनी एक सङ्‍गी विश्‍वासी हुन् जसलाई हामी सबैले धेरै प्रेम गर्दछौँ र उनले प्रभु येशूको सेवा विश्‍वासयोग्यतासाथ गर्दछन् । 22 त्यसकारण, मैले उनलाई तिमीहरूकहाँ पठाउँदै छु; म र मेरा सङ्‍गीहरू कस्ता छन् भन्‍ने तिमीहरूले जानेको म चाहन्छु । म तिमीहरूलाई उनले सान्त्वना र उत्साह दिएको चाहन्छु । 23 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टद्वारा तिमी सङ्‍गी विश्‍वासीहरूमा भित्री शान्ति, एक आपसमा प्रेम र परमेश्‍वरमा भरोसा होस् भनेर म प्रार्थना गर्दछु । 24 परमेश्‍वरले आफ्ना सबै मानिसहरूलाई उहाँको अनुग्रह दिऊन्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टलाई निरन्तर प्रेम गर्दछन् ।