नेपाली: import 7/9

Updated ? hours ago # views See on DCS

हिब्रू

Chapter 1

1 प्राचीन कालमा परमेश्‍वर धेरै पटक विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो । 2 तर यी अन्तिम दिनहरूमा परमेश्‍वर हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ । परमेश्‍वरले पुत्रलाई नै सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गर्नुभयो, र पुत्रद्वारा नै विश्‍व बनाउनुभयो । 3 पुत्र नै परमेश्‍वरको महिमाको चमक हुनुहुन्छ र परमेश्‍वरको स्वभावको साँचो प्रतिरूप हुनुहुन्‍छ, र पुत्रले नै आफ्नो शक्‍तिको वचनद्वारा सृष्‍टिका सबै थोकलाई सम्‍भाल्‍नुहुन्‍छ । पापको शुद्धेइँ गर्नुभएपछि उहाँ स्वर्गमा सर्वशक्‍तिमान्‌को दाहिने बाहुलीपट्टि विराजमान हुनुभयो । 4 जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका नाउँभन्‍दा अति उत्तम छ, त्यसरी नै उहाँ स्‍वर्गदूतहरूभन्‍दा अति महान् हुनुभएको छ । 5 के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु”? र फेरि, “म उनका पिता हुनेछु, र उनी मेरा पुत्र हुनेछन्”? 6 फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँको आराधना गरून्‌ ।” 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई आत्माहरू, र आफ्ना सेवकहरूलाई आगोका ज्वालाहरू बनाउनुहुन्छ ।” 8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपार्इंको सिंहासन सदासर्वदा रहिरहनेछ; तपार्इंको न्यायको राजदण्ड नै तपार्इंको राज्यको राजदण्ड हुनेछ । 9 तपार्इंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण परमेश्‍वर, तपार्इंका परमेश्‍वरले तपार्इंलाई आफ्ना सहयोगीहरूभन्‍दा बढी आनन्दको तेलले अभिषेक गर्नुभएको छ ।” 10 अनि, “हे परमप्रभु, आदिमा तपार्इंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्गहरू तपार्इंका हातका काम हुन्‌ । 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपार्इं रहिरहनुहुन्छ । तिनीहरू सबै लुगाझैँ झुत्रा हुनेछन्, 12 तपार्इंले तिनीहरूलाई बाहिरी लामो वस्‍त्रजस्तै बेर्नुहुनेछ, र तिनीहरू लुगाझैँ परिवर्तन हुनेछन्‌ । तर तपार्इं सधैँ एकैनासको हुनुहुन्छ, र तपार्इंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन ।” 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्यै यस्तो भन्‍नुभएको छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ”? 14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको खातिर सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?

Chapter 2

1 त्यसकारण हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ, ताकि त्यसबाट बहकिएर हामी टाढा नजाऔँ । 2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता हुन्थ्यो, र हरेक अपराध र अनाज्ञाकारीताको निम्‍ति उचित दण्‍ड हुन्थ्यो । 3 त्यसैले हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति सबभन्दा पहिला प्रभुद्वारा नै घोषणा गरिएको थियो र उहाँको सन्देश सुन्‍नेहरूद्वारा हाम्रा निम्ति यो सन्देश दिइयो । 4 अनि परमेश्‍वरले चिन्हहरू, अचम्मका कामहरू र विभिन्‍न शक्‍तिशाली कामहरू अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा यस मुक्‍तिको सन्देश प्रमाणित गरिदिनुभयो । 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन । 6 त्यसको सट्टामा, कसैले धर्मशास्‍त्रको कुनै एक ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, र तपार्इं त्यसको ख्याल गर्नुहुन्छ, वा मानिसको छोरो के हो, र तपार्इं त्‍यसको वास्ता गर्नुहुन्छ? 7 तपार्इंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम स्तरमा बनाउनुभएको छ; तपार्इंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । [र तपार्इंले त्यसलाई तपार्इंका हातका कामहरूमाथि राख्‍नुभएको छ ।] 8 तपार्इंले हरेक कुरा त्यसको पाउमुनि अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनमा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसको अधीनभन्दा बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि थोक मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ; उहाँका दु:ख र मृत्युको कारणले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसैले अहिले परमेश्‍वरको अनुग्रहद्वारा येशूले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभएको छ । 10 परमेश्‍वर – जसको निम्ति र जसद्वारा हरेक थोक अस्तित्वमा आएको छ – उहाँले नै धेरै छोराछोरीहरूलाई महिमामा ल्याउने इच्छा गर्नुभयो । अनि यो उपयुक्त थियो, कि तिनीहरूलाई मुक्‍तिसम्म डोर्‍याउने काममा परमेश्‍वरले येशूलाई कष्‍टहरूद्वारा एक सिद्ध अगुवा बनाउनुपर्ने थियो । 11 किनकि पवित्र पार्नुहुने र पवित्र पारिएकाहरू र समर्पण गरिएकाहरू दुवैका एउटै पिता हुनुहुन्छ । त्यसैकारण उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपार्इंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचमा तपार्इंको प्रशंसाको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, म यहाँ म छु अनि परमेश्‍वरले मलाई दिनुभएका छोराछोरीहरू ।” 14 त्यसकारण, परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको सहभागी भएका हुनाले येशू पनि त्यही मानव-स्वभावको सहभागी हुनुभयो, यस हेतुले कि येशूले मृत्युद्वारा नै मृत्युको शक्‍ति भएकोलाई, अर्थात् शैतानलाई नष्‍ट पारून्, 15 र मृत्युको डरले जीवनभर शैतानका दास भएर जिउनेहरूलाई स्वतन्त्र गरिदिऊन्‌ । 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको सहायता गर्नुहुन्‍न; बरु, उहाँले अब्राहामका सन्तानहरूको सहायता गर्नुहुन्छ । 17 यसैकारण सबै क्षेत्रमा उहाँलाई आफ्नै भाइहरूजस्‍तै बन्‍नु आवश्यक थियो, ताकि उहाँ परमेश्‍वरको सेवामा दयापूर्ण र विश्‍वासयोग्य प्रधान पुजारी हुन सकून्‌ । त्यसो हुँदा प्रधान पुजारीको रूपमा उहाँले सबै मानिसहरूका पापको क्षमादान गर्न सक्नुहुन्छ । 18 येशू आफैले परीक्षित भई दु:ख भोग्‍नुभएको कारण उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।

Chapter 3

1 त्यसकारण, स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका पवित्र भाइहरू हो, हामीले स्‍वीकार गरेका प्रेरित तथा प्रधान पुजारी येशूलाई विचार गर । 2 उहाँलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति उहाँ विश्‍वासयोग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य थिए । 3 मोशाभन्‍दा येशू महान् महिमाको योग्य ठहरिनुभयो, किनभने घरकोभन्‍दा घर बनाउनेको बढी आदर हुन्‍छ । 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्छ । 5 एकातिर, मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवकको रूपमा भविष्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए । 6 तर ख्रीष्‍टचाहिँ परमेश्‍वरको घरानाको जिम्मा पाएको पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्‍थ्‍यो । यदि हामीले हाम्रो आत्मविश्‍वास र आशाको गौरवलाई थामिराख्‍यौँ भने हामी उहाँका घराना हौँ । 7 त्यसकारण पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9 जहाँ तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे, र चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे । 10 त्यसकारण म त्यस पुस्तासँग क्रोधित भएँ । मैले भनेँ, ‘तिनीहरूको ह्रदय सधैँ बरालिन्छन्, अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’ 11 मेरो क्रोधमा मैले शपथ खाए: ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” 12 भाइहरू हो, होसियार बस, नत्रता तिमीहरूमध्ये कोही-कोहीमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट तर्काएर टाढा लैजानेछ । 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ, ताकि पापको छलकपटद्वारा तिमीहरूमध्ये कसैको पनि हृदय कठोर नहोस्‌ । 14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग थामिराख्यौँ भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौँ । 15 यसको बारेमा यस्तो भनिएको छ, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।” 16 परमेश्‍वरको आवाज सुनेर उहाँको विरोध गरेकाहरू को थिए? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै थिएनन् र? 17 कोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको थियो? के ती पाप गर्नेहरूसँग होइन, जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिए? 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कसको बारेमा उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरूको बारेमा होइन र? 19 अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।

Chapter 4

1 यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राममा प्रवेश गर्नदेखि वञ्‍चित हुन नपरोस्‌ । 2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो; तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन, किनकि सुन्‍नेहरूले सुसमाचारलाई विश्‍वाससाथ स्वीकार गरेनन्‌ । 3 किनकि हामी विश्‍वास गर्नेहरू त्यस विश्राममा प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभएको छ, “मैले मेरो क्रोधमा यसरी शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए । 4 किनकि सातौँ दिनको विषयमा उहाँले कहीँ भन्‍नुभएको छ, “परमेश्‍वरले सातौँ दिनमा आफ्ना सबै कामहरूबाट विश्राम लिनुभयो ।” 5 फेरि उहाँले भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन्‌ ।” 6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, तर सुसमाचार सुनेका धेरै इस्राएलीहरू विश्राममा प्रवेश गर्न सकेनन्, किनभने तिनीहरूले परमेश्‍वरको आज्ञा पालना गरेनन्‌ । 7 “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।” 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन । 9 यसकारण परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम-दिनको विश्राम अझै बाँकी छ; 10 किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो । 11 त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि इस्राएलीहरूजस्तै अनाज्ञाकारीताको कारण पतित नहोस्‌ । 12 किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग-अलग होउञ्‍जेल छेड्दछ, अनि हृदयका भावना र विचारहरूको जाँच गर्न यो सक्षम छ । 13 सृष्‍टिको कुनै पनि कुरा परमेश्‍वरको दृष्‍टिबाट लुकेको हुँदैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै र खुला छ, जसको लेखा हामीले दिनुपर्छ । 14 त्यसकारण, स्वर्गमा उक्लिजानुभएका परमेश्‍वरका पुत्र येशू – महान् प्रधान पुजारी – हामीसँग हुनुभएको हुनाले हामीले स्वीकार गरेका विश्‍वासलाई दृढतासाथ थामिराखौँ । 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने प्रधान पुजारी हुनुहुन्‍न, तर हामीसँग एक जना हुनुहुन्छ, जो हामीजस्तै हर प्रकारले परीक्षित हुनुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हाम्रो सहायताको लागि हामीले कृपा र अनुग्रह पाउन सकौँ ।

Chapter 5

1 प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ, र परमेश्‍वरसँग सम्बन्धित विषयहरूमा मानिसहरूको पक्षमा पापको निम्ति भेटीहरू र बलिदानहरू चढाउने सेवामा नियुक्त गरिएको हुन्छ । 2 तिनले अजान र बाटो बिराउनेहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनकि तिनी आफै पनि कमजोरीले घेरिएका हुन्छन्‌ । 3 यसकारणले गर्दा, तिनले मानिसहरूका पापको निम्ति मात्र होइन, तर आफ्नो पापका निम्ति पनि बलिदान चढाउन बाध्यता हुन्छ । 4 कुनै पनि मानिस आफैले प्रधान पुजारी हुने सम्मान पाउन सक्‍दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुनुपर्छ । 5 त्यसै गरी, ख्रीष्‍टले पनि आफैलाई प्रधान पुजारी बनाएर आफ्नो सम्मान लिनुभएन । बरु, परमेश्‍वरले उहाँलाई भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।” 6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको छ, “मल्कीसेदेकको दर्जाअनुसार तिमी सधैँका निम्ति पुजारी हौ ।” 7 येशू शरीरमा हुनुहुँदाको समयमा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँसुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । परमेश्‍वरप्रतिको उहाँको भक्तिपूर्ण सम्मानको कारण उहाँको प्रार्थनाको सुनाइभयो । 8 उहाँ पुत्र हुनुभएर पनि आफूले भोग्नुभएको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो । 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँको आज्ञापलन गर्ने सबैका निम्ति उहाँ अनन्त मुक्‍तिको स्रोत बन्‍नुभयो । 10 अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो । 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसको व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका आधारभूत सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको नै आवश्यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनको अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । तिनीहरूले आफ्ना आन्तरिक समझ शक्‍तिको अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने तालिम पाएका हुन्‍छन्‌ ।

Chapter 6

1 त्यसकारण, ख्रीष्‍ट बारेको प्राथमिक शिक्षाहरूलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । मृत्‍युतिर लैजाने कामहरूबाट पश्‍चात्ताप र परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग बसाल्ने काम फेरि नगरौँ, 2 न त बप्‍तिस्माबारे शिक्षाको, हात राख्‍ने कामको, मरेका मानिसहरूको पुनरुत्थानको, र अनन्त न्यायको जग फेरि बसालौँ । 3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामी अगाडि बढ्नेछौँ । 4 किनकि तिनीहरू, जसले एक चोटि ज्योति पाएका छन्, स्वर्गको वरदान चाखेका छन्, र पवित्र आत्मामा सहभागी भएका छन्, 5 र परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका छन्, 6 तर पछि विश्‍वासबाट पतित भएका छन् भने, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि यस्ता मानिसहरूले आफ्नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि पनि क्रुसमा टाँगेका हुन्छन्, र खुल्‍लमखुल्‍ला उहाँको बेइज्‍जत गरेका हुन्छन्‌ । 7 जुन जमिनले आफूमाथि बारम्बार बर्सने पानी पिउँदछ, र खेती गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष्‌‌ प्राप्‍त गर्दछ । 8 तर यदि त्यसले काँडा र सिउँडीहरू उमार्छ भने, त्यो मूल्यहीन हुन्छ र श्राप पाउने जोखिममा पर्छ, र अन्त्यमा त्यसलाई आगोमा जलाइन्छ । 9 हामीले यस प्रकारले बोले तापनि, प्रिय हो, तिमीहरूका असल कुराहरूको बारेमा हामी आश्‍वस्त भएका छौँ, ती हुन् उद्धार सम्बन्धी विषय । 10 परमेश्‍वर अन्यायी हुनुहुन्‍न; तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई उहाँले बिर्सनुहुन्‍न, किनकि तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ, र अझै पनि तिनीहरूको सेवा गरिरहेका छौ । 11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै त्यही उत्सुकता देखाओ, ताकि तिमीहरूले आशा राखेको कुरा पूर्णरूपले प्राप्‍त गर्न सक । 12 हामी चाहन्छौँ कि तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ । 13 किनकि परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा आफ्नै नाउँमा उहाँले शपथ खानुभयो । 14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तेरा सन्तानहरूको ज्यादै वृद्धि गराउनेछु ।” 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे । 16 जब मानिसहरूले आफ्ना विवादहरू मिलाउन चाहन्छन्, तिनीहरूले आफूभन्दा ठुलाको नाउँमा शपथ खान्छन्‌ । शपथद्वारा नै विवादहरू पक्‍का रूपमा मिलाइन्छन्‌ । 17 परमेश्‍वरले उहाँको अपरिवर्तनीय प्रतिज्ञा त्यसका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउने निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै सो प्रतीज्ञा पक्‍का गर्नुभएको थियो । 18 यसरी परमेश्‍वरले उहाँका दुवै प्रतीज्ञा र शपथ दिनुभयो । यी दुई कुराहरू अपरिवर्तनीय छन्, किनभने परमेश्‍वरलाई झुट बोल्न असम्भव छ । यसकारण, हामी, जो शरणको लागि उहाँकहाँ भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई ठुलो हौसला पाएको छौँ । 19 हाम्रा आत्माको निम्ति भरपर्दो र सुरक्षित लङ्गरको रूपमा हामीसित यो आशा छ । यस्तो आशा जुन पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ । 20 येशू मल्कीसेदेकको दर्जाअनुसार सधैँका निम्ति प्रधान पुजारी भई हाम्रो निम्ति अग्रदूत भएर त्यस ठाउँमा प्रवेश गर्नुभएको छ ।

Chapter 7

1 यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए । 2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।” 3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्‍यक्‍ति हुन्‌ । बरु, उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुन्‌ । 4 हेर, यिनी कस्ता महान् व्‍यक्‍ति थिए, जसलाई हाम्रा पुर्खा अब्राहामले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए । 5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पद पाएका छन्, तिनीहरूलाई मानिसहरू, अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन्‌ । 6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटको थिएन, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले प्रतिज्ञाहरू पाउनेलाई नै आशीर्वाद दिए । 7 साना व्‍यक्‍तिले ठुला व्‍यक्‍तिबाट आशीर्वाद पाउने कुरामा कुनै संदेह छैन । 8 एकातिर, दशांश पाउने मानिसहरू एक दिन मर्छन्, तर अर्कोतिर, अब्राहामबाट दशांश पाउने ती मानिस सदा जीवित रहन्‍छन्‌ भनी प्रमाणित गरिएको छ । 9 यस सन्दर्भमा भन्‍नुपर्दा, दशांश पाउने लेवीले पनि अब्राहामद्वारा दशांश दिए, 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खा अब्राहामकै शरीरभित्र थिए । 11 अब यदि लेवीको पुजारीपनद्वारा सिद्धता प्राप्‍त गर्न सम्भव भएको भए – वास्तवमा मोशाको व्यवस्थाले पुजारीपनको स्थापना गरेको थियो – हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाबमोजिम अर्को पुजारीको स्थापना गर्न किन आवश्यकता पर्‍यो? 12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ । 13 एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जुन कुलबाट कसैले पनि कहिल्यै वेदीमा सेवा गरेको छैन । 14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले यस कुल सम्बन्धी पुजारीहरूका बारेमा कहिल्यै उल्‍लेख गरेका छैनन्‌ । 15 यदि मल्कीसेदेकजस्तै अर्को पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो अझ बढी स्पष्‍ट हुन्छ । 16 उहाँ शारीरिक पुर्खाहरूसँग सम्बन्धित व्यवस्थाको आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिको आधारमा पुजारी हुनुभयो । 17 किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँका निम्ति पुजारी हौ ।” 18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो । 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति त्‍यसभन्‍दा अझ उत्तम निश्‍चयता दिइएको छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ । 20 अनि यो उत्तम निश्‍चयता शपथविना भएको होइन । अरूहरू शपथविना नै पुजारीहरू भएका थिए, 21 तर येशू शपथसहित पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले शपथ खानुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न: ‘तिमी सदाकालको निम्ति पुजारी हौ’ ।” 22 यो शपथको कारण येशू अझ उत्तम करारको जमानी हुनुभएको छ । 23 पहिलाका पुजारीहरू धेरै संख्‍यामा थिए, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको सेवामा लागि रहन दिएन । 24 तर येशू सदासर्वदा रहिरहनुहुने भएकाले उहाँको पुजारी पद सधैँभरि रहिरहन्छ । 25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तरबिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ । 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र स्‍वर्गभन्‍दा पनि उच्‍च पारिएका हुनुहुन्‍छ । 27 अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति येशूले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैलाई अर्पण गर्नुभयो, त्यति बेला उहाँले यो बलिदान चढाउने काम सधैँका निम्ति एकै पटकमा पुरा गरिदिनुभयो । 28 किनकि व्यवस्थाले कमजोर मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ, जो सदाकालका निम्ति सिद्ध प्रधान पुजारी बनाइनुभएको छ ।

Chapter 8

1 अब हामीले भनिरहेको कुरा यही हो: हामीसँग यस्तो प्रधान पुजारी हुनुहुन्छ, जो स्‍वर्गमा सर्वशक्‍तिमान्‌को सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ । 2 मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको पवित्रस्थान, साँचो पवित्र वासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ । 3 किनकि हरेक प्रधान पुजारी तोकिएका भेटीहरू र बलिदानहरू चढाउन नियुक्त गरिएको हुन्छ; त्‍यसैले ती चढाउनका लागि पुजारीसँग केही कुरा हुनु आवश्यक छ । 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ पुजारी हुनुहुने नै थिएन, किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउने पुजारीहरू छँदै छन्‌ । 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन्‌ । यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्‍वरले मोशालाई यसो भनी चेताउनी दि‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।” 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ । 7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्यकता नै पर्दैन थियो । 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब इस्राएलका घरानासँग र यहूदाका घरानासँग म नयाँ करार स्‍थापना गर्नेछु । 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्तो हुनेछैन, जब मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र मैले तिनीहरूको बेवास्‍ता गरेँ, परमप्रभु भन्‍नुहुन्‍छ । 10 ती दिनपछि इस्राएलको घरानासँग म यो करार बाँध्‍नेछु, परमप्रभु भन्‍नुहुन्‍छ, म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ । 11 तिनीहरूले आफ्नो छिमेकीलाई सिकाउनेछैनन्, र आफ्नो दाजुभाइलाई ‘परमप्रभुलाई चिन’ भन्‍नु पर्नेछैन, किनकि सानादेखि लिएर ठुलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌ । 12 किनकि तिनीहरूले गरेका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।” 13 परमेश्‍वरले यस करारलाई “नयाँ” भन्‍नुभएर पहिलो करारलाई पुरानो तुल्‍याउनुभयो । अनि जुनचाहिँ पुरानो भएर खिइँदैगएको हुन्छ, त्यो चाँडै लोप पनि भएर जान्छ ।

Chapter 9

1 अब पहिलो करारमा पनि आराधनाका निम्ति नियमहरू र पार्थिव पवित्रस्‍थान थिए । 2 किनकि पवित्र वासस्थानमा एउटा कोठा, अर्थात् बाहिरी कोठा तयार गरिएको थियो, जसलाई पवित्रस्थान भनिन्छ । यही ठाउँमा सामदान, टेबल र उपस्थितिको रोटी थिए । 3 दोस्रो पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महापवित्र स्थान भनिन्थ्यो । 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए । 5 करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले कृपा-आसनलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ । 6 यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा पवित्र वासस्‍थानको बाहिरी कोठामा आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे । 7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका पापहरूका निम्ति बलि चढाउँथे । 8 यस कुराबाट पवित्र आत्माले देखाउँदै हुनुहुन्छ, कि पहिलो पवित्र वासस्‍थान रहुञ्‍जेलसम्म महापवित्र स्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटीहरू र बलिदानहरूले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन्‌ । 10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन्‌ । ती सबै नियमहरू शरीरका निम्ति मात्रै थिए, जुनहरू नयाँ प्रणाली स्थापना नभएसम्म राखिएका थिए । 11 ख्रीष्‍ट आइसकेका असल कुराहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्र वासस्‍थानदमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, अर्थात् यस सृष्‍टिको होइन । 12 बोका र बाछाहरूको रगतद्वारा होइन, तर उहाँ आफ्नै रगतद्वारा सधैँका निम्ति एकै पटक त्यस महापवित्र स्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारालाई सुरक्षित गर्नुभयो । 13 यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानी विधिअनुसार अशुद्ध भएका मानिसहरूमाथि छर्कँदा तिनीहरू शुद्ध भई तिनीहरूको शरीर चोखो हुन्‍छ भने, 14 ख्रीष्‍टको रगतले झन् कति बढता गरेर हाम्रो विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ, ताकि हामी जीवित परमेश्‍वरको सेवा गर्न सक्नेछौँ! किनकि हामीहरूको पापको लागि अनन्त आत्माको शक्‍तिद्वारा, ख्रीष्‍टले आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई चढाउनुभयो । 15 यसै कारणले गर्दा, ख्रीष्‍ट नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ, ताकि परमेश्‍वरबाट बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्‍त गर्न सकून्‌ । किनकि पहिलो करार अन्तर्गत तिनीहरूले गरेका अपराधहरूबाट उद्धार गर्न ख्रीष्‍ट मर्नुभएको छ । 16 किनकि जहाँ इच्छापत्रको सवाल हुन्छ, त्यहाँ इच्छापत्र लेख्ने व्‍यक्‍तिको मृत्यु भएको प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि इच्छापत्र तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म इच्छापत्रको कुनै प्रभाव हुँदैन । 18 त्यसैले पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसप लिएर व्‍यवस्‍थाको पुस्‍तकमाथि र सबै मानिसहरूमाथि छर्के । 20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको छ ।” 21 यसरी नै, उनले पवित्र वासस्‍थान र आराधनामा प्रयोग हुने सबै भाँडाहरूमाथि रगत छर्के । 22 वास्तवमा, व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाईकन पापको क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने, स्वर्गमा भएका थोकहरू आफैलाई झन् कति बढी उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो । 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ स्वर्गमा हुने साँचो पवित्रस्थानमा एक नक्‍कल मात्र हो । बरु उहाँ आफै स्वर्गमा प्रवेश गर्नुभयो, जहाँ हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ । 25 उहाँ आफ्नै निम्ति घरीघरी बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्दछन्‌ । 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दु:ख भोग्‍नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पटक प्रकट हुनुभएको हो । 27 हरेक व्‍यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँदछ । 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पापसँग व्यवहार गर्नलाई होइन, तर उत्‍सुकतापूर्वक उहाँलाई पर्खिरहनेहरूका मुक्‍तिका लागि हो ।

Chapter 10

1 व्यवस्था हुन आउने असल कुराहरूको वास्तविक रूप होइन, तर तिनको छायाँ मात्र हो । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने एकै किसिमका बलिहरूद्वारा परमेश्‍वरको नजिक आउनेहरूलाई व्यवस्थाले कहिल्यै सिद्ध बनाउन सकेन । 2 नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, र तिनीहरूमा फेरि कहिल्यै पापको चेतना हुने थिएन । 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन्‌ । 4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ । 5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपार्इंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपार्इंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ । 6 पूर्ण होमबलिहरू र पापबलिहरूमा तपार्इं प्रसन्‍न हुनुभएन । 7 तब मैले भनेँ, “हेर्नुहोस्, परमेश्‍वर, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपार्इंको इच्छा पुरा गर्न म यहाँ छु ।” 8 उहाँले पहिला भन्‍नुभयो, “बलिदानहरू र भेटीहरू, होमबलिहरू र पापबलिहरू तपार्इंले चाहनुभएन, न त ती कुराहरूमा तपार्इं प्रसन्‍न हुनुभयो ।” – यद्यपि यी कुराहरू व्यवस्थाअनुसार चढाइन्छन्‌ । 9 तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपार्इंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रोलाई स्थापित गर्न उहाँले पहिलोलाई खारेज गर्नुहुन्छ । 10 परमेश्‍वरको इच्छाबाट येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा हामी सधैँका निम्ति एकै पटक पवित्र बनाइएका छौँ । 11 हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भएर बारम्‍बार एउटै किसिमका बलिदानहरू चढाइरहेको हुन्छ, र ती बलिदानहरूले कहिल्यै पनि पाप हटाउन सक्दैनन्‌ । 12 तर ख्रीष्‍टले पापका निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ । 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदान नबनाएसम्म उहाँ पर्खिरहनुहुन्छ । 14 किनकि उहाँले एउटै बलिद्वारा पवित्र हुँदैगरेकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ । पहिला उहाँ भन्‍नुहुन्छ, 16 “ती दिनहरूपछि तिनीहरूसँग मैले बाँध्‍ने करार यही नै हो, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा त्यो लेखिदिनेछु ।” 17 त्यसपछि उहाँ भन्‍नुहुन्छ, “तिनीहरूका पापहरू र दुष्कर्महरू म कहिल्यै पनि सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन । 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महापवित्र स्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा, अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित मार्ग खोलिदिनुभएको छ । 21 परमेश्‍वरको घरमा हामीसँग एक जना महान् पुजारी हुनुभएकोले 22 विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ साँचो हृदय लिएर हामी परमेश्‍वरको नजिक जाऔँ । किनकि हाम्रो हृदय दोषी विवेकबाट छिटकाउद्वारा शुद्ध पारिएको छ, र हाम्रो शरीर शुद्ध पानीले धोइएको छ । 23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ । 25 हामी एक आपसमा सँगसँगै भेला हुन नछोडौँ, जब कि कतिको भेला हुन छोड्ने बानी बसेको छ । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन, 27 तर न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको आगो मात्र रहनेछ । 28 मोशाको व्यवस्थालाई उल्‍लङ्‌घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्नुपर्छ । 29 तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो । 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दु:खको कठिन घडीमा कसरी सह्‍यौ, ती अगिका दिनहरूको सम्झना गर । 33 तिमीहरू निन्दा र अत्याचारमा परि मानिसहरूका सामु तमाशा बनाइएका थियौ, र त्यस्तै दु:ख-कष्‍टमा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र सदा रहिरने आफ्नै सम्‍पत्ति छ । 35 त्यसकारण आफ्नो आत्मविश्‍वासलाई नगुमाओ, जसको ठुलो इनाम छ । 36 तिमीहरूलाई धैर्यको खाँचो छ, ताकि परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो तिमीहरूले प्राप्‍त गर्नेछौ । 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन । 38 मेरा धर्मी जन विश्‍वासद्वारा नै जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।” 39 तर हामी परमेश्‍वरबाट पछि फर्कर विनाशतिर जानेहरूमध्येका होइनौँ । बरु, हामी ती मध्येका हौँ जससँग आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।

Chapter 11

1 अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका कुराहरूको बारेमा भएको प्रमाण हो । 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति प्रशंसनीय भएका थिए । 3 विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भयो, अनि जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन्‌ । 4 विश्‍वासद्वारा नै हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण तिनी धर्मी हुन् भन्‍ने प्रशंसा पाए । तिनको भेटी स्वीकार गरेर परमेश्‍वरले तिनको प्रशंसा गर्नुभयो । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन्‌ । 5 विश्‍वासद्वारा नै हनोक माथि उठाइलगिए र तिनले मृत्यु देखेनन्‌ । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई लैजानुभयो ।” कारण तिनी उठाइनुभन्दा अगि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेका कुरामा तिनी प्रशंसनीय थिए । 6 विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर हुनुहुन्छ र उहाँलाई खोज्नेलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ । 7 विश्‍वासद्वारा नै नोआलाई त्यति बेलासम्म नदेखेका कुराहरूका बारेमा परमेश्‍वरले चेताउनी दिनुभयो, र तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए । 8 विश्‍वासद्वारा नै अब्राहामलाई बोलाइँदा तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए । 9 विश्‍वासद्वारा नै तिनी प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी-उत्तराधिकारीको रूपमा बसे । 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ । 11 विश्‍वासद्वारा नै सारा बाँझी र एकदमै वृद्ध भइसक्दा पनि गर्भधारण गर्ने शक्‍ति प्राप्‍त गरिन्, किनभने प्रतिज्ञा दिनुहुने विश्‍वासयोग्य हुनुहुन्छ भनी तिनले मानेकी थिइन्‌ । 12 त्यसैकारण मरेतुल्य भइसकेका यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह गन्‍नै नसकिने सन्तानहरू जन्मिए । 13 यी सबै प्रतीज्ञा गरिएका कुराहरू प्राप्‍त नगरिकनै यिनीहरू विश्‍वासमा नै मरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै यिनीहरूले प्रतीज्ञा गरिएका कुराहरू टाढैबाट देखे र तिनको स्वागत गरे । 14 यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ । 15 साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । 16 तर तिनीहरू अझ उत्तम देश, अर्थात् स्वर्गीय देशको चाहना गर्दछन्‌ । त्यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ । 17 विश्‍वासद्वारा नै आफ्नो जाँच हुँदा अब्राहामले इसहाकलाई बलिको रूपमा अर्पण गरे । हो, प्रतिज्ञाहरू सहर्ष ग्रहण गर्नेले आफ्नो एकमात्र छोराको बलि चढाउन तयार भए । 18 यद्यपि परमेश्‍वरले उनलाई यसो भन्‍नुभएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।” 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामले सोचेका थिए, र दृष्‍टान्तको रूपमा, उनले आफ्ना छोरालाई मृत्युबाट फिर्ता पाए । 20 विश्‍वासद्वारा नै इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्‍यको बारेमा आशिष्‌‌ दिए । 21 विश्‍वासद्वारा नै याकूब मर्नै लागेका बेलामा उनले योसेफका दुवै छोराहरूलाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले परमेश्‍वरको आराधना गरे । 22 विश्‍वासद्वारा नै योसेफको अन्त्य नजिकिँदा तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्तुको बारेमा तिनीहरूलाई आदेश दिएका थिए । 23 विश्‍वासद्वारा नै मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन्‌ । 24 विश्‍वासद्वारा नै मोशा हुर्केपछि तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे । 25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुर्व्यवहार सहने कुरालाई छाने । 26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्नो दृष्‍टि इनाममाथि केन्द्रित गराएका थिए । 27 विश्‍वासद्वारा नै मोशाले मिश्र देश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि अदृश्य हुनुहुनेलाई देखेजस्तै गरी उनले सही रहे । 28 विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको विधि पालन गरे, ताकि नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मेका जेठा छोराहरूलाई छुन नसकोस्‌ । 29 विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबेर मरे । 30 विश्‍वासद्वारा नै तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि यो ढल्यो । 31 विश्‍वासद्वारा नै राहाब वेश्याले जासुसहरूलाई सद्‍भावसाथ सत्कार गरेकी हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन्‌ । 32 अनि योभन्दा बढी म के भनूँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूका मुखलाई बन्द गरिदिए । 34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट उम्के; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । 35 स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित प्राप्‍त गरे । अरूहरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई छुटकारालाई स्वीकार नगरेर यातना भोगे । 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे । 37 तिनीहरूलाई ढुङ्गाले हानी मारियो । तिनीहरूलाई दुई भाग हुने गरी करौँतीले चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर गरिब भई यातना र दुर्व्यवहार सहँदै हिँड्‍डुल गर्नुपर्‍यो । 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो । 39 यहाँसम्म यी सबै मानिसहरूले तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरबाट प्रशंसा पाए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन्‌ । 40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम योजना राखिदिनुभएको थियो ।

Chapter 12

1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ, र हाम्रा अगि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमानलाई केही नठानेर क्रुसको दु:ख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर, ताकि तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन । 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौ: “हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई हलुका नसम्‍झ, र उहाँले तिमीलाई सुधार्नुहुँदा हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, त्यसलाई अनुशासन गर्नुहुन्छ, अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।” 7 अनुशासनको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्‍यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र? 8 तर यदि तिमीहरू अनुशासनविनाका छौ भने – र सबै जना अनुशासनमा रहनुपर्छ – तब तिमीहरू अवैध छोराछोरीहरू हौ, उहाँका छोराछोरीहरू होइनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा सांसारिक बुबाहरू थिए, जसको हामीले आदर गर्‍यौँ । के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गरेर जिउनु पर्दैन र? 10 किनकि हाम्रा बाबुहरूले उचित ठानेबमोजिम केही समय हामीलाई अनुशासनमा राखे, तर हामी उहाँको पवित्रतामा सहभागी हुन सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि हामीलाई अनुशासनमा राख्नुहुन्छ । 11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दु:खदायी नै हुन्‍छ । जे भए तापनि, यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने पछि यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ । 12 त्यसकारण लत्रेका हातहरू उठाओ र र्दुबल घुँडाहरू बलिया बनाओ । 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ, ताकि लङ्गडो खुट्टा नखुस्कियोस्, बरु निको होस्‌ । 14 सबै मानिसहरूसित शान्‍तिमा बस्‍ने र पवित्रतामा रहने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि प्रभुलाई देख्‍न सक्दैन । 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रह पाउनबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दु:ख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस्‌ । 16 होसियार रहो, कि कोही पनि यौन अनैतिकतामा नपरोस्, अथवा एक छाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस्‌ । 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌‌ प्राप्‍त गर्ने इच्छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले आँसुका साथ पश्‍चात्ताप गर्न खोज्दा पनि उनले त्यो मौकासमेत पाएनन्‌ । 18 किनकि तिमीहरू छुनै नसकिने जलिरहेको पहाड, अन्धकार, कालो बादल र आँधीमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ, जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए । 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हानेर मार्नुपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन्‌ । 21 त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि “म डराएर काम्दै छु,” भनेका थिए । 22 त्यसको साटो, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतहरूको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, अनि सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ, 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने छर्किएको रगतको सामु आएका छौ । 25 होशियार रहो, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । यदि पृथ्वीमा तिनीहरूलाई चेताउनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेताउनी दिनुहुनेलाई हामीले इन्कार गर्‍यौँ भने, हामी झन् कसरी उम्कन सक्छौँ र? 26 त्यस समय उहाँको आवाजले पृथ्वी हल्‍लायो, तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई समेत हल्‍लाउनेछु ।” 27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ यो हुन्छ, कि हल्‍लाउन सकिने थोकहरू – अर्थात् सृष्‍टि भएका थोकहरू – सबै हटाइनेछन्, तर हल्‍लाउन नसकिने थोकहरू स्थिर रहनेछन्‌ । 28 त्यसकारण, एउटा हल्‍लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य आराधना चढाऔँ, 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।

Chapter 13

1 भ्रातृ-प्रेम बनिरहोस्‌ । 2 परदेशीहरूको अतिथि सत्कार गर्न नबिर्स, किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए । 3 तिमीहरू आफै पनि झ्यालखानामा तिनीहरूसँगै बाँधिएझैँ झ्यालखानामा परेकाहरूको सम्झना गर । तिमीहरू आफ्नै शरिरमा तिनीहरूले भोगेका पीडा सहेझैँ अत्याचारमा परेकाहरूको सम्झना गर । 4 सबैले विवाहलाई आदरणीय मानोस्‌ । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ । 5 तिमीहरूका जीवनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।” 6 त्यसकारण हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ; म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?” 7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर; तिनीहरूका विश्‍वासको देखासिखी गर । 8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एक समान हुनुहुन्छ । 9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस्‌ । अनुग्रहद्वारा हम्रो हृदय सुदृढ भएको असल हुन्छ, भोजनसम्बन्धी विधिहरूअनुसारको भोजन खाएर होइन, जसले खानेहरूलाई केही फाइदा दिँदैन । 10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्र वासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन । 11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत महापवित्र स्थानमा ल्याइन्थ्यो, तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो । 12 त्यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गर्नका लागि सहरको ढोकाबाहिर दु:ख भोग्‍नुभयो । 13 त्यसैले हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमानमा सहभागी होऔँ । 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी पछि आउने सहरको प्रतीक्षा गरिरहेका छौँ । 15 त्यसैले हामी येशूद्वारा निरन्तर परमेश्‍वरलाई प्रशंसाको बलिदान चढाऔँ । यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो । 16 अनि एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्स, किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ । 17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर र तिनीहरूको अधीनमा बस, किनभने आफ्नो कामको लेखा दिनुपर्छ भनेर नै तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन्‌ । तिमीहरूले यो गर, ताकि तिम्रा अगुवाहरूले आनन्दसाथ तिमीहरूको वास्ता गरून्, दु:खसँग होइन, नत्रता तिनीहरूको सेवाबाट तिमीहरूलाई केही लाभ हुनेछैन । 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीलाई निश्‍चय छ कि हामीमा सफा विवेक छ, र सबै कुरामा हामी सम्मानयोग्य जीवन जिउने इच्छा गर्दछौँ । 19 मेरो लागि विशेष प्रार्थना गर भनेर म तिमीहरूलाई आग्रह गर्दछु, कि म तिमीहरूकहाँ चाँडै फर्केर आउन सकूँ । 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले 21 उहाँको इच्छा पुरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्‌ । परमेश्‍वरको दृष्‍टिमा जे कुरा मनपर्दो छ, ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्‌ । आमेन । 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु । 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी कैदबाट छुटेका छन्‌ । यदि उनी छिट्टै आए भने, म उनीसँगै तिमीहरूलाई भेट्‌न आउनेछु । 24 तिमीहरूका सबै अगुवाहरू र सबै पवित्र जनहरूलाई अभिवादन देओ । इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌ । 25 तिमीहरू सबैसँग अनुग्रह रहोस्‌ ।